विराटनगर । विराटनगर महानगरपालिकाले शंकास्पद व्यक्तिको स्वाब संकलनका लागि मोबाइल भ्यानको प्रयोग सुरु गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरमा जेष्ठ नागरिक र अशक्तको घरमै पुगेर स्वाब संकलनका लागि मोबाइल भ्यान प्रयोगमा ल्याएको हो ।
रोटरी क्लव अफ विराटनगरले महानगरलाई स्वाब संकलनमा सहजता ल्याउनका लागि मोबाइल भ्यान उपलब्ध गराएको थियो । सोही भ्यानको प्रयोगले स्वाब संकलन बुथसम्म आउन नसक्नेहरूको घरघरमा पुगेर स्वाब संकलन सुरु गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
महानगरभित्र मोबाइल भ्यानको प्रयोग हिजोबाट सुरु गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको भनाई छ । उनका अनुसार अशक्तको सहजताका लागि भ्यानको प्रयोग सुरु गरेको हो ।
तस्विर: लोकेन्द्र तिम्सिना