खोटाङ । खोटाङको जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । बाख्रामा ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गा(हो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् ।
गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासीले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विभिन्न वडाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको किसानले बताएका छन् । जिल्लाका किसानले पालेका बाख्रामा फैलिएको अज्ञात रोगका बारेमा अहिलेसम्म आफूसँग कुनै जानकारी नआएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताए ।
जानकारी आएको खण्डमा तत्काल प्राविधिकलाई फिल्डमा पठाएर औषधि उपचार गरिने उनको भनाई छ ।