२४ घण्टामा काठमाडौंमा थप ५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये महिला १९९ र पुरुष ३८४ जना रहेका छन् । यस्तै भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरी जम्मा ७२४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर भने १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको जानकारी दिए ।
उनका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् भने आज पीसीआर १० हजार १९ जनाको भएको छ ।
गत २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ । यस्तै कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् त्यस्तैगरी सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु भएको छ ।
शनिबारको विवरणअनुसार देशका विभिन्न अस्पतालमा २७ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् भने २२४ जना आइसोलेशनमा रहेका छन् । ५०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त जिल्ला बनेका छन् ।