रामधुनी । प्रदेश १ मा आज ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । विगतका दिनमा औसत १२ सयको हाराहरीमा हुने गरेको परिक्षण केही दिन यता घट्दै अहिले आधामा झरेको छ ।
कारण पीसीआर परीक्षणको लागि आवश्यक पर्ने रिएजेन्ट किट प्रदेशका परिक्षण ल्याबमा प्रयाप्त मात्रामा उपलब्ध छैनन् । वीपीमा त परिक्षण नै रोकीएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले किट नपठाएका कारण पीसीआर परीक्षण बन्द भएको बताए ।
जसले गर्दा प्रतिष्ठानको आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी, प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको छ । पिसिआर परीक्षण रोकिएपछि दुर्घटनामा परेका र इमेरजेन्सी शल्यक्रिया गर्नुपर्ने बिरामी जोखिममा परेको चिकित्सकहरुले बताएका छन् ।
प्रतिष्ठानका निर्देशक डा.गौरीशंकर साहले निःशुल्क गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको बताउँदै अब २ हजार रुपैयाँ शुल्क लिएर मात्र परीक्षण गर्ने जानकारी दिए । बीपीको मात्रै होइन प्रदेशका अरू ल्याबहरूमा पनि रिएजेन्ट सकिएको कारण कोरोना परीक्षणमा कमी आएको छ ।