रामधुनी । इटहरीमा सोमबार आज देखि १ सय बेड क्षमताको आइसोलेसन सञ्चालनमा आउने भएको छ ।
आइतबार कोभिड रोकथाम तथा नियन्त्रण मुल समितिका संयोजक, नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले सोमबार आज देखि आइसोलेसन सञ्चालन हुने जनाएको हो ।
प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम वस्नेत तथा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सहयोगी कार्यालय संघ सस्थाका प्रतिनिधि सहित बसेको बैठकमा इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। मनिश शर्मा र स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरीलाई आइसोलेसनको चाबी र पीपीई प्रदन गरिएको थियो ।
इटहरी रंगशालामा १६ वटा शौचालय, ४ वटा वाथरुम, २ वटा लुगा धुने ठाँउ सहितको आइसोलेसन निर्माण भएको आइसोलेसन निर्माण समितिका संयोजक भूपेन्द्र बराले जानकारी दिए ।
लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा वाइफाई र सिसिटिभी समेत जडान गरिएको छ । सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।
आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको ब्यवस्था समेत गरिने भएको छ । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारबाट २० लाख रकम सहयोग आएको थियो ।