समय गतिशिल छ । यो आफ्नै गतिमा निरन्तर अघि बढिरहन्छ । यसैको गतिसँग घुम्ने क्रममा सन् २०१९ को अन्त्यतिर एउटा अनौठो विषाणुको प्रकोप चिनमा चलिरहेको हल्ला हामीमाझ आइपुग्यो । जसलाई नोवल कोरोना भाइरस (कोभिड १९) को उपमा दिइएको थियो । हल्ला तर विषाणु आफै आईनसकेकोले अनौठो लागेता पनि हामीले यसलाई सामान्य र क्षणिक प्रकोपको रुपमा लियौँ । केही समयपछी आफै निष्कृय हुने अनुमान गरिएको यो भाइरसले हाम्रो अनुमानको ठीक विपरित आफ्नो सक्रियता बढाउदै विश्व यात्रामा भाग लियो । यो भाइरस के बाट कसरी आएको भन्ने कुराको आजसम्म यथेष्ट तथ्य प्राप्त भएको छैन ।
यसले सबैलाई दिग्भ्रमित बनाएको छ । मान्छेको मथिङ्गल हल्लाएको छ । यसको प्रभाव प्रत्यक्ष वा परोक्ष रूपमा सबै ठाउँमा परेको छ । यो कहिले साम्य होला भन्ने विषय भविष्यको गर्भमा छ । यस बारेमा अनेकन कुराहरु विश्वबजारमा देखिएका छन् । बिज्ञान तथा प्रविधिको विकासले मानिसको जीवन दिनप्रतिदिन सजिलो भइरहेको महसुस हामी सबैले नगरेका होइनौं । लगभग एक वर्ष हुन लाग्दा पनि न त भ्यक्सिन बन्न सकेको छ न त कुनै औषधी नै । विज्ञान र प्रविधिको यति धेरै विकास भइसक्दा पनि आज सम्म कुनै उपाय आउन नसक्नुले बिज्ञानलाई चुनौति दिएको छ ।
विगतमा बिज्ञान ( भैतिकबिज्ञान ) ठूला ठूला आकाशीय पिण्डहरु, त्यसको स्थिति, संरचना तथा वनावट सम्बन्धी अध्ययनमा समर्पित वा बढि केन्दि«त देखिन्थ्यो भने आज अति सुक्ष्म भन्दा सुक्ष्म कण जसभित्र अत्यन्त बढि शक्ति सञ्चय भएको तथ्य प्रमाणित गरी उक्त शक्तिको प्रयोगमा अभ्यस्त भएको देखिन्छ । बिज्ञानको यहि तथ्यलाई टेकेर आज कोभिडले पनि आफनो शक्ति प्रदर्शन गरिरहेको छ । चिनको वुहान सहरबाट उत्पति भई युरोप र अमेरीका हानिएको उक्त भाइरस आफ्नो पक्षमा नतिजा हाशिल गरी आज पूवी यसियामा आफ्नो वर्चश्व कायम गरिरहेको छ । सुरुमा विश्वकै शक्तिशाली देशहरुले यसलाई प्राकृतिक विषाणु नभई मानव निर्मित अष्त्रको संज्ञा दिएता पनि आज यसका सम्बन्धमा प्राःय सबै मौन देखिन्छन् । ठूला अर्थतन्त्र भएका र विश्वयुद्धको नेतृत्व गरेका देशहरु नै सुरुमा यसको संक्रमणबाट सखाप हुने दिशातर्फ लाग्दा यस किसिमका अनुमानहरु आउनु स्वभाविक देखिन्थ्यो तर विश्वका अधिकाशं देशहरु यसको संक्रमणबाट अछुतो रहने अवस्था नरहेपछि भने त्यस्ता अनुमानहरु पनि विस्तारै सेलाउदै गए ।
यसलाई मास्नका निम्ति आज विश्वको सम्पूर्ण शक्ति लागिपरेको छ । बैज्ञानिकहरु आफ्नो अध्ययनको क्षेत्र मोडेर यतै केन्दित छन् । यतिका समय भइसक्दा पनि यसको समाधानमा रत्ति सकरात्मक परिवर्तन नदेखिनु, संक्रमण र मृत्युदरमा बढोत्तरी हुनु तथा सुरक्षित रहन बन्दाबन्दीको पालना गर्दागर्दै भोकमरीको अवस्था सृजना हुनु बिज्ञानका निम्ति ठूलो चुनौति देखिन्छ । यद्यपी खोज तथा अनुसन्धान भने निरन्तर रुपमा अघि बढिरहेकै छन् । बैज्ञानिक सृजनाका लागि अध्यताहरुले आफ्ना सफलता र गल्ति एक आपसमा आदान प्रदान गर्नुपर्ने हुन्छ । रसिया, बेलायत, अमेरीका लगाएत धेरै देशहरुले यसको खोपको विभिन्न चरणमा परिक्षण गरिरहेका छन् । आज विश्वको सम्पूर्ण शक्ति यसैको समाधानमा केन्दित भइरहेको छ तर समाधान त के नियन्त्रण सम्म पनि गर्न सकेको छैन ।
भूगोल र जनसंख्याको बीचमा प्राकृतिक समानुपातिक सम्बन्ध रहन्छ । विकास, पूर्वधार, प्रविधि तथा सेवा सुविधाहरुले यस प्राकृतिक तथ्यलाई अस्वीकार गर्न खोज्छ । प्रकृति सधै सत्य हुन्छ, सत्यसँग लड्नु दुर्भाग्य हो । यस मानेमा बिज्ञान र प्रविधिको विकासले प्रकृतिलाई पु¥याएको असरको परिणमको रुपमा पनि आजको अवस्थालाई विश्लेषण गर्ने जमात बाक्लै छ । भूगोलमा २२ गूणा, जनसंख्यामा २२ को पनि २ गूणा ठूलो हाम्रो छिमेकी देश भारतलाई हेर्दा आज यसको संक्रमणको अवस्था विश्वमै २ नम्बरमा आइपुगेको छ । यसले ३ तिरबाट घेरीएको हाम्रो देश नेपालमा यसको प्रभाव ज्यादा छ । नेपालमा फ्रान्सबाट आएकी नेपाली युवतीमा संक्रमण पुष्टि भइसकेपछि यसलाई नियन्त्रण गर्न बन्दावन्दीको सुरुवात गरेता पनि यसको प्रभाव प्रकोपको रुपमा फैलिनु भारतमा संक्रमणको स्तर ह्वात्तै बढ्नु, कामदारको रुपमा ( रोजगारीको सिलसिलामा ) कयौँ नेपाली नागरीक भारतमा रहनु, दुई देशबीचको खुला सिमाना तथा नेपालीहरुको स्वदेश फर्कनैपर्ने चाहना र बाध्यता आदि रहेको देखिन्छ । सीमा क्षेत्रमा यसको उचित व्यवस्थापन गर्न नसक्नु, सीमा सुरक्षा चुस्त दुरुस्त राख्न नसक्नु, भारतले नेपालीहरुप्रति गरेको दुव्र्यवहार तथा स्वयं हामी नेपालीहरुको चेतनाको स्तरले समेत यस महामारीको आगोलाई घीउ थप्ने काम गरेको स्वस्पष्ट छ ।
प्राकृतिक विपत्ति कसैको चाहना हुँदै होइन । यसको सक्रियता वा प्रभाव कुन समय र स्थानमा आईपर्छ , त्यो अनुुमान सम्म पनि गर्न सकिदैन । बाढी, पहिरो, भुकम्प, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपहरु यस अघिपनि पटक पटक विश्वले सामना गर्नुपरेका प्रकोपहरु हुन । यसको पूर्वानुमान, नियन्त्रणमा गर्नुपर्ने पूर्वतयारी तथा विपद् पश्चात गर्नुपर्ने व्यवस्थापन हाम्रा निम्ति नौला विषय होइनन् । तर कोरोना भाइरस हाम्रा निम्ति मात्र नभई विश्वकै निम्ति नयाँ महामारीको रुपमा स्थापित भयो । हाम्रो देश नेपालमा समुदाय स्तरमै यसको संक्रमण फैलिसकेको छ । यसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले लामो समयसम्म बन्दाबन्दी गर्नुपर्यो । देश पूर्ण रुपमा ठप्प अवस्थामा पुग्यो । सडक, सवारीसाधन, पसल, उद्योग, विद्यालय पूूर्ण रुपमा बन्द भए । यसबीचमा नेपालीहरुको जनजीवन दिनानुदिन कष्टप्रद बन्दै छ । आर्थिक स्थिति ओरालो लाग्ने क्रम रोकिएको छैन ।
सहरमा केहि महंगा विद्यालयहरुले अनलाइन विधिबाट शिक्षण तथा सिकाई क्रियाकलाप सञ्चालन गरेको भएता पनि इन्टरनेटको पहुँच नपुगेका दुरदराजका विद्यालय एवम् विद्यार्थीहरुले भने चिनेका अक्षर समेत विर्सने अवस्थामा पुगेका छन् । सरकारले यसको नियन्त्रणमा हात बाधेर बसेको छ भन्न मिल्दैन । क्षमता र जनशक्तिले भ्यायसम्म ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट जस्ता बैज्ञानिक विधिहरु अवलम्बन गरेको छ । परीक्षणको दायरामा केही कमी भएता पनि ह्वात्तै बढाउने अवस्थामा हाम्रो देश छैन । तल्लो तहका सरकारहरुसँग समन्वय, सहकार्य, नियन्त्रण र निर्देशन गरिरहेकै छ । शैक्षिक क्षतिलाई विनाश नै विकासको प्रतिकको रुपमा लिएर शिक्षामा नयाँ अवधारणाको विकासको संकेत आएको छ । यसो हुँदा हुँदैपनि स्वास्थ्य सामाग्री खरिद प्रकृयामा अनियमितता, टेण्डर र ठेक्कामा लुछाचुडी, क्वारेण्टाइन र आईसोलेसन कक्षको व्यवस्थापनमा झमेला तथा पहुँचवालमा दवदवाका समाचारहरुले भने कोरोनाको कहरमा पनि शासन सञ्चालनको मियो संयन्त्रको रुपमा रहेको नेतृत्वको निष्कृयताको ठहर गरेको छ ।
संक्रमणले व्यक्तिको पद, अहोदा, शैक्षिक स्तर, पेशा व्यवसाय आदि हेरेर आक्रमण गर्ने होइन रहेछ । आजका मितिसम्मको निष्कर्र्षलाई हेर्दा संक्रमित व्यक्तिहरु सँगको निकटता नै संक्रमणको पहिलो कारण पुष्टि भएको छ । आफ्नो ज्यानलाई जोखिममा राखेर संक्रमितको उपचारमा होमिएका स्वास्थ्यकर्मी, संक्रमणलाई थप फैलन नदिन दिनरात खटिएका सुरक्षाकर्मी तथा सार्वजनिक सेवा प्रवाहमा रहेका कर्मचारीहरु समेत यसको संक्रमणको सिकार भएका छन् । यिनको उचित कदर एवम् सम्मानको सट्टा यिनीहरुप्रति गरिएको दुव्र्यवहार खेदजनक विषय हुन । जिम्मेवार एवम् सार्वजनिक उच्च पद धारण गरिसकेका देशका प्रतिष्ठित व्यक्तिहरुले समेत आफु सुरक्षित रहेर अहोरात्र खटिएका जोसुकै पात्रहरुको सेवा सुविधा रोक्नुपर्ने धारणा व्यक्त गरिदिदा उनीहरुको कामप्रतिको मनोवल र उत्प्रेरणामा ह«ास आउने सहजै अनुमान गर्न सकिन्छ ।
यसबाट सुरक्षित रहन विज्ञले सुझाएका विभिन्न उपायहरु अवलम्बन गर्नु वाञ्छनिय हुन्छ । हामी आफै सचेत नभएसम्म कोरोना संक्रमित हुने सम्भावना बढ्ने खतरा रहन्छ । यसका निम्ति व्यक्ति, व्यक्ति बीचको दुरी कायम गर्ने, माक्स, साबनपानी तथा गुणस्तरीय सेनिटाइजरको पहिचान गरी उचित प्रयोग गर्ने, रोघ प्रतिरोधक खानामा जोड दिने, भिडभाड नगर्ने तथा यसबाट टाढा रहने तथा उच्च मनोवलका साथ यस महामारीलाई जित्ने आत्मविश्वासको विकास गरी विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डहरुको पालना गर्नु उत्तम हुन्छ । बिज्ञानले सिद्ध गरेका औषधी वा खोपको आविस्कार नभएसम्म हामीले घरेलु (गुर्जो, अदुवा, लसुन, तुलसी, बोझो, अमला, मेथी, चिराइतो) औषधिय गुणले युक्त आयुर्बेदिक दबाईको प्रयोग गर्नुको अर्को विकल्प छैन । वेसारको खिल्ली उडाउदै जीउभरी वेसार दलिएका तस्बीरहरु सामाजिक सञ्जालमा छाप्ने र बिहान बेलुका वेसार पानी पिएर सुरक्षित हुन खोज्ने मनोवृति त्यागेर यिनको उत्पादन र उचित प्रयोगमा जोड दिनु उपयुक्त हुन्छ । खोपको आविस्कार कहिले र कसरी हुन्छ त्यो अनिश्चित छ । खोप तयार भइसकेपछि पनि यसको उपलब्धता, खर्च र वितरण भने हाम्रा निम्ति चुनौतिका विषय हुनेछन् ।
हामी सबैको चाहना छ, महामारीबाट सुरक्षित रहेरै व्यवस्थित र उपयुक्त हिसाबले लकडाउान खुकुलो पारियोस् । सरकारले जनताको दैनिकीलाई केहि सहज बनाउने अभिप्राय तथा चौतर्फी दवाबका कारण पछिल्ला दिनहरुमा लकडाउनलाई केहि खुकुलो पारेको छ । यद्यपी यसको संक्रमणको दर रोकिएको छैन । घट्नुको सट्टा बरु बढेको छ । हाम्रा चाडपर्वहरु नजिकिदै छन् । लामो समयदेखी आराम गर्न बाध्य भएका सार्वजनिक यातायातहरुले समेत आफ्नो यात्रा सुरु गरेका छन् । यसबीचमा संक्रमणले कस्तो रुप लिने हो भन्ने चिन्ता थपिएको छ । यसको उचित व्यवस्थापनका निम्ति सरकारले अत्यन्त संवेदनशिल बन्दै सुस्पष्ट दुरदृष्टि र योजना निर्माण गर्नु आवश्यक देखिन्छ । यो सरकारको एकल प्रयासले मात्र नियन्त्रण हुने विषय होइन । प्रत्यक नागरीकले यस महामारी विरुद्ध सरकारले जारी गरेका सुझाव एवम् निर्देशनलाई पालना गर्नु पर्दछ । आज बाच्न सके भोली अवश्य नाच्न पाईन्छ । त्यसैले यो महामारीलाई सबै मिलेर परास्त गर्नुको कुनै विकल्प देखिदैन ।
(लेखक धर्मदेवी नगरपालिका, संखुवासभामा कार्यरत कर्मचारी हुन्)