विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विराटनगर कमिटिले बिहीबार वडा नम्बर १४ र वडा नम्बर २ का कोरोना संक्रमित र संक्रमितका परिवारसँग भेटघाट गरेको छ ।
नेकपाले कोरोना संक्रमितमाथि समाजिकरुपमा हुने दुव्र्यवहार र तिरस्कारजन्य व्यवहार विरुद्ध सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले संक्रमित र उनका परिवारसँग भेटघाट र सहयोग अभियान सुरु गरेको थियो ।
अभियान अन्तर्गत आज विराटनगरको वडा नम्बर १४ का ३० जना संक्रमित र उनका परिवार तथा वडा नम्बर २ का १० जना संक्रमित र उनको परिवारसँग भेटघाट भएको हो । अभियानमा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा संघीय सरकारका पूर्वमन्त्री शिवकुमार मण्डलले संक्रमितलाई भेट गर्दै आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार प्रदान गरेका छन् ।
मण्डलले जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी हस्तान्तरण गर्दै संक्रमितलाई समाजले विभेद गर्नु नहुनेमा जोड दिए । यस्तै नेकपा मोरङका नेता बाबुराम कार्कीसहितको टोलीले वडा नम्बर २ मा सोही अभियान संचालन गरेको छ ।
वडा नम्बर १४ र वडा नम्बर २ को अभियानमा नेकपा विराटनगरका अध्यक्ष सागर थापा, सचिव हेम कार्की ‘विशाल’, प्रदेश सदस्यभोगेन्द्र यादव, नेकपा विराटनगर कार्यालय सदस्य शारदा मैनालीलगायतको उपस्थिति थियो ।
नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव १ हजार संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई हेला होइन माया गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले बताए ।