नयाँदिल्ली । भारतमा कोरानोभाइरसबाट संक्रमितहरुको संख्या ५१ लाख नाघेको छ ।
बिहीबार भारतीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा संक्रमितको संख्या ५१ लाख १८ हजार २ सय ५४ जना पुगेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८ सय ९४ जना थप संक्रमित थपिएको भारतीय सरकारी अधिकारीहरु जानकारी दिएका छन् ।
सोही अवधिमा एक हजार १३२ जना संक्रमितको मृत्यु समेत भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा देशभरि अहिलेसम्म कुल संक्रमितमध्ये कोरोनाकै कारण मृतकको संख्या ८३ हजार १ सय ९८ जना पुगेको छ ।
भारतमा कुल संक्रमितमध्ये नौ लाख १० हजार ९ हजार ९ सय ७६ जना अझै पनि अस्पतालमा उपचाररत या आइसोलेसनमा रहेका छन् । त्यस्तै ४० लाख २५ हजार ८० जना संक्रमणमुक्त भइसकेका छन् ।
मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने अनुपात करिब ७९ प्रतिशत रहेको छ । निको हुने यो दरलाई भारतीय अधिकारीहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।
भारतमा अहिलेसम्म ६ करोडभन्दा बढी नागरिकमा कोरोना भाइससम्बन्धी पिसिआर परीक्षण गरिएको बताइएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले भारतमा बुधबार मात्र ११ लाख ३६ हजारभन्दा बढीको परीक्षण गरेको बताएका छन् ।
त्यस्तै भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।
उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान समेत गरेका छन्। मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो, उनले भनेका छन्।