काठमाडौ। सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि असोज ३० गते सम्म अन्तराष्ट्रिय सीमा नाका बन्द राख्ने निर्णय गरेको छ ।
यसअघि भदौ ३१ गते सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै बिन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज महिनाभरी प्रवेश निषेध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तैै मन्त्रिपरिषद् बैठकले भारत र चीनमा समस्या परेका नेपालीलाई प्रवेश गर्न थप ३ वटा नाका खुल्ला गर्ने निर्णय गरेको छ । चीनमा समस्यामा परेका नेपालीहरूलाई रसुवागढी नाकाबाट प्रवेश खुल्ला गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
यस्तै, भारतमा समस्या परेका नेपालीलाई इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट प्रवेश गर्न अनुमति दिने निर्णय भएको ज्ञवालीले बताए । सरकारले यअअघि नै भारतमा समस्यामा परेका नेपालीका लागि १० नाकाबाट प्रवेश अनुमति दिएको थियो ।