काठमाडौं । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए ।
त्यसपछि उहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ भए । मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाएका हुन् ।
खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गरे । अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन उहाँले आग्रह समेत गरे ।