एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेको टिमले आज सातौं खेल खेल्दै छ । सन्दीप सहभागी टिम जमैका तलावाजले आफ्नो सातौँ खेलमा किरोन पोलार्ड कप्तान रहेको ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा अपराजित रहेको ट्रिनबागो नाइटविरुद्ध जमैकाको यो दोस्रो भिडन्त हो । लिगमा शानदार प्रदर्शन गर्दै अपराजित ट्रिनबागो ६ खेलमा १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ । अर्कातर्फ जमैका समान ६ खेलमा ३ जित र ३ हारसहित ६ अंकका साथमा चौथो स्थानमा छ ।
लिगकै शीर्ष स्थानमा रहेको टिमलाई पराजित गर्दै जमैकाले शीर्ष(४ मा आफनो दाबेदारी बलियो बनाउन खोजिरहेको छ । जारी प्रतियोगितामा सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । उनले आफ्नो लयलाई कायम राख्दै ६ खेलमा ९ विकेट लिएका छन् ।