जनकपुर । कोरोना संक्रमणबाट प्रदेश २ मा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्साका ३ जना, महोत्तरीका २ र सिरहाका २ जना रहेका छन् ।
यस अघि बिहिबार ८ जनार र शुक्रबार ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको सामाजिक बिकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।
शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १२ मुरलीका ४८ वर्षीय पुरुष, मनियारी २२ पर्साका ३७ वर्षीय पुरुष र वीरगंज १२ को ६५ वर्षीय महिला रहेका छन् ।
त्यस्तै संक्रमणबाट मृत्यु हुनेहरुमा महोत्तरीको भंगहा नगगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुष, सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका वडा नम्बर १८ का ४५ वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस सँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।
कोरोनाबाट पर्सामा ३३ जना, बारामा १३ जना, धनुषामा १२ जना, महोत्तरीमा ८ जना, सिरहामा ७ जना, सप्तरीमा ५ जना, रौतहटमा ३ जना र सर्लाहीमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।