सुन्दरहरैंचा । मोरङमा दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको हो । घटनामा चार जना घाइते भएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार ‘ग्याङ फाइट’मा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो । स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईसहितको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको हो ।
सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डीएसपी राईले बताए । अघिल्लै दिनको रिसईबीका कारण भएको ‘ग्याङ फाइटमा’ एक जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ ।
घटनामा सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको छ । अर्को समूहका पनि चौधरी घाइते भएका छन् । सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार छन् ।