सुनसरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सय क्षमताको आइसोलेशन बेड तयार पार्न निर्देशन दिएका छन् । यस्तै कोभिड र अन्य विरामीहरुलाई छुट्टाछुट्टै तवरले उपचार व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन् ।
मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरुलाई उहाँले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत निर्देशन दिए । उनले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन र पाँच सय क्षमताको आइसोलेशन बेड तयार पार्न अनि कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका छन । छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका छन ।