सोलुखुम्बु । सोलुखुम्बुबाट एक गर्भवती र एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बेहोस अवस्थामा रहेकी सोलुदूधकुण्ड नगरपालिका ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र माप्य दूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया सुत्केरी जेनिसा मगरको बच्चाको अवस्था नाजुक भएपछि हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनिहरुलाई उद्धार गरिएको र उनीहरुको प्रसूति गृह थापाथलीमा उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिए ।
३३ हप्ताकी गर्भवती विनिता रक्तश्रावका कारण बेहोस भएकी थिईन् र जेनिसाको बच्चालाई श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएपछि सोलुखुम्बुबाट ११ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।