विराटनगर । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पठनपाठनसहित परीक्षा प्रभावित बनेपछि विद्यार्थीहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन ।
मंगलबार कोरोना महामारीका कारण स्थगित परीक्षाबारे चाँडो निर्णय लिन पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले दबाब दिएका छन् ।
कोरोनाका कारण शैक्षिक गतिविधी ठप्प भएको ६ महिना बितिसक्दा पनि विश्वविद्यालयले निर्णय लिन नसक्दा विद्यार्थीको भविष्य थप अन्योलमा परेको भन्दै विद्यार्थीहरुले चाँडो निर्णय दिन दबाब दिएका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले सामाजिक सञ्जालमा भ्वाइस अफ पियु नामक ग्रुप बनाई नेपाल भरिका विद्यार्थीले ऐक्यबद्धता जनाउँदै समूह मार्फत विश्वविद्यालयलाई झक्झकाउन लागि परेका छन् ।
विद्यार्थीहरुले साङ्केतिक विरोध जनाउँदै परीक्षाको विषयमा चाँडो निर्णय लिन सामाजिक सञ्जाल मार्फत दवाब दिन विभिन्न प्लेकार्ड बोकेर भिडियो सार्वजनिक गरेको विद्यार्थी मन्जिल कोईरालाले जानकारी दिए ।
विद्यार्थीहरुले म कसरी सक्षम बन्ने मेरो विद्यालय नै असक्षम भएपछि, कुम्भकर्ण पनि समय आएपछि निन्द्राबाट जागेका थिए पूविको बिउँझिने समय कहिले आउने हो, विश्वविद्यालय तिम्रो पाराले दुख पायौ साराले, कति सुत्ने पियू बाहिर घाम लागि सक्यो, पूविमा भविष्य देखेर आएको मलाई पूविले वर्तमानमा मात्रै म अड्काइराखोस् जस्ता प्ले कार्ड बोकेको भिडियो सार्वजनिक गरि विश्वविद्यालयलाई दवाब दिएको कोईरालाले बताए ।