इटहरी । आर्थिक अभाव झेलिरहेका श्रमजीवि पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान सन्चालनमा ल्याएको छ ।
युनियन जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवि पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले कोरोना महामारीले गर्दा पत्रकारले सवैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो रहेकाले केही राहत होस् भनेर आँफूहरुले फुड बैंक सुरु गरिएको उनले बताए ।
फुड बैंक अभियान सञ्चालन एवम ब्यवस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ । समितिमा पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवाल अहमद र बिनय प्रधान रहेका छन् ।
जिल्लाको इटहरी, धरान इनरुवा, झुम्का, दुहवी, बराहक्षेत्र लगायतका स्थानमा पत्रकार छरिएकाले गर्दा ती पत्रकारलाई खाद्य सामग्री वितरण गर्न पनि समितिले आवश्यक व्यवस्था गर्ने बताइएको छ ।